जापान जाने कामदारको परीक्षा टुंगो

जापानले नर्सिङ कियर गिभरमा लैजाने भनेको कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कार्तिक १० र ११ मा भाषा परीक्षा र कार्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदारले जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् ।

‘जापानले यसका लागि कुनै बिशेष सीप वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्ने बताइएको छ ।  जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष/अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । उसले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने भएको छ ।  नेपाल बाट मात्रै कति संख्यामा लैजाने भन्ने टुङ्गो हुन बाकि नै छ ।

जापानमा सरकारी संयन्त्रबाटै कामदार पठाइनेछ ।यसमा कुनै म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक कम्पनीलाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । ‘परीक्षा सकिएलगत्तै परीक्षार्थीले पासफेल थाहा पाउनेछन्,’ श्रम मन्त्रालयका सहसचिव उमेश ढुंगानाले भने, ‘एकपटक भाषामा पास भएपछि त्यसले १० वर्षसम्म मान्यता पाउनेछ ।’

भाषा परीक्षाका लागि २५ सय, सीप परीक्षाका लागि १ हजार र नर्सिङ क्षेत्रका लागि १हजार गरी ४ हजार ५ सय जापानी येन शुल्क लाग्नेछ । भाषा र सीप परीक्षणमा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान एकाइ बनाइएको छ । सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने सबै खर्च र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ ।

जापानले ९ स्रोत मुलुकबाट ५ वर्षभित्र १४ वटा क्षेत्रमा ३ लाख ४२ हजार विदेशी श्रमिक लिने निर्णय गरेको छ । जापान फाउन्डेसन भाषाको जापानी भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिने भएको छ । यो वर्ष झन्डै ४० जनालाई जापानमै लगेर तालिम दिने योजना बनाएको छ ।

तीन वर्ष जापानी भाषा सिकाइरहेका र जापानमा कम्तीमा एक वर्ष काम गरेका वा बसेकाहरूले भाषा प्रशिक्षकका लागि आवेदन दिन पाउनेछन् । यसका लागि तालिम दिइने कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । पहिलो चरण १९ नोभेम्बरदेखि १८ डिसेम्बर (२०१९), दोस्रोपटक ७ जनवरीदेखि ६ फेब्रुअरी (२०२०) र तेस्रोपटक १८ फेब्रुअरीदेखि मार्च १९ (२०२०) मा तालिम दिइनेछ । यो तीन वटा कार्यतालिकामा नेपाली प्रशिक्षकले भाग लिन पाउनेछन् ।

पहिलो चरण हुने कार्यतालिकाको आवेदन दिने समय भदौ ३ सम्म छ । दोस्रो चरणका लागि असोज ३ सम्मको समय छुट्याइएको छ । जापानले गत अप्रिल १ देखि कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य, सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ, पेय पदार्थ र पेय उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने नीति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *