आईपीएल क्रिकेटः मुम्बईलाई लखनउले हरायो

शेयर गर्नुहोस

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले रोमाञ्चक रुपमा जितेको छ । मंगलबार अटल विहारी वाजपेयी रंगशालामा लखनउले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर जम्मा १७२ रन मात्र बनायो । जितसँगै लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो बनेको छ ।

मुम्बईका ओपनर ईशान किशनले ३९ बलमा आठ चौका र एक छक्कासहित ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन बनाए । टिम डेविडले ३२ र नेहाल वधेराले १६ रन बनाए ।

लखनउका रवि विश्रोई र यश ठाकुरले समान दुई विकेट लिँदा मोहसिन खानले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो ।

लखनउका मार्कस स्टोईनिसले ४७ बलमा चार चौका र आठ छक्कासहित अविजित ८९ रन बनाएका थिए । कप्तान क्रुनल पान्ड्या ४९ रनमा रिटायर्ट हर्ट आउट भए । क्विन्टन डी ककले १६ रन बनाए ।

मुम्बईका जेसन बेहरेनड्रर्फले दुई र पीयुष चावलाले एक विकेट लिए । जितसँगै १३ खेलबाट १५ अंक जोडेको लखनउ तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।