गठबन्धनमा भागबण्डा मिलेपछि सुदूरपश्चिम सरकार विस्तारको तयारी

शेयर गर्नुहोस

धनगढी । लामो समयसम्म विस्तार हुन नसकेको सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसले थप एक, नेकपा माओवादी केन्द्र २ र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति भएको छ । यस्तै कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिबाट एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी सहमति भएको बताएइको छ ।

माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागि हुने प्रदेशसभा सदस्यको नाममा समेत सहमति भइसकेको बताइएको छ । सहमति अनुसार प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रमेश धामी, झपट साउद मन्त्री बन्ने तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने सहमति भएको बताएको छ । तर यसको औपचारिक निणर्य भने गरिनसकेको माओवादी केन्द्रका एक नेताले बताए । यसअघि माओवादी केन्द्रले कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी विक मन्त्री बन्ने सहमती भएको बताउने गरेका थिए ।

यस्तै सत्ता गठबन्धनमा रहेको अर्को दल नेपाली कांग्रेसले मन्त्री हुने थप एक जनाको नाम टुग्याउन बाँकी रहेको छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी रहेका बताएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारमा सहभागि हुने मन्त्रीको बाँकी रहेको छ । एउटा मात्र मन्त्रालय पाउने भएपछि अब नागरिक उन्मुक्ति पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा तीन महिना अघि नै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदिय दलका नेता कमलबहादुर शाह नियुक्त भइसकेका छन् । आफुसंगै मुख्यमन्त्री शाहले काँगेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई भौतिक पुर्वाधार विकास मन्त्री र एकिकृत समाजवादीका प्रदेशसभा सदस्य नेरशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए । त्यसयता सत्ता गठबन्धनमा सहमति नहुँदा पैदेश सरकार विस्तार हुन सकेको थिएन ।