डडेल्धुरा । सर्वोच्च अदालतले डडेल्धुरा अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मण सिंहको नियुक्ति कायम राख्न अन्तरिम आदेश दिएको छ । अध्यक्ष सिंहले आफ्नो नियुक्ति खारेज गरिदिएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएपछि अदालतले नियुक्ति कायम राख्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतले नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ । सिंह वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निणर्यले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।
उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निणर्यबाट उनको नियुक्ति खारेज गर्दै अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेृको थियो । ओझा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष हुन् ।
अध्यक्ष सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अध्यक्ष सिंह यसअघि अस्पताल विकास समितिको दुई कार्यकाल अध्यक्ष भइसकेका थिए ।