दार्चुलामा हिमपहिरोमा परी मृत्यु भएका तीन जनाको शव सदरमुकाम ल्याइयो, दुई जना अझै बेपत्ता

शेयर गर्नुहोस

बैशाख २३, दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएका तीन जनको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइएको छ ।

यार्सागुम्बा टिप्न गएका ५ जना मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका थिए । उनीहरुमध्ये तीन जनाको शव बुधबार फेला परेको थियो । तीन जनाको शव ब्यास गाउँपालिका-१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनहरुको पोस्टमार्टमपछि आफन्तहरूको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका-२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव सदरमुकाम ल्याइएको हो । यस्तै हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । यार्सागुम्बा टिप्न गएका उनीहरू त्रिपाल टाँगेर बसिरहेका बेला मंगलबार हिमपहिरो खस्दा ५ जना बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाउन सफल भएका थिए ।