धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक सम्मेलन हुँदै

शेयर गर्नुहोस

काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा पहिलोपटक आध्यात्मिक सम्मेलन हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास समितिको पहलमा आध्यात्मिक सम्मेलन हुने भएको हो । सम्मेलन यही जेठ २३ देखि २५ गतेसम्म हुने छ ।

आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टोवा पुर्याउने उद्देश्यले आध्यात्मिक सम्मेलन गर्न लागिएको खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु हुने कार्यक्रम रहेको छ । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यले योग शिविर र प्रवचन दिने कार्यक्रम रहेको छ । उक्त सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति बनाइएको छ । यस्तै सम्ेलन सफल बनाउन विभिन्न १२ उपसमिति समेत गठन गरिएको छ ।

समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको सुदूरपश्चिमका चार जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गम क्षेत्रका रुपमा रहेको छ । खप्तडमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । खप्तड क्षेत्रलाई समेटेर विसं २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । खप्तडमा २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काहरु (झोती) रहेका छन् ।

खप्डमा सुन्दर घाँसे फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रङ्गीविरङगी फूलले छपक्कै छोपेका मैदानहरु रहेका छन् । खप्तड क्षेत्रमा खप्तडबाबा कुटी, सहस्त्रलिङ्ग, त्रिबेणीधाम, नागढुङ्गाा, केदारढुङ्गाा, सतिापाइला लगायतका दर्जनौ पर्यटकिय स्थान रहेका छन् । यहाँ विभिन्न जडीबुटी पनि पाइन्छ ।