धनगढी । सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश सरकारका काँग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज पद तथा गोपनीयताको शपथ लिएका मन्त्रीहरु काँग्रेसबाट पृथ्वीबहादुर सिंह र माओवादीबाट झपट साउद र रमेश धामी रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस्तै माओवीबाट राज्यमन्त्री भएका गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका थिए ।
मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । त्यसपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने अर्को दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन् । उन्मुक्तिले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताएका छन् । उन्मुक्तिले आफूहरु छलफलमै रहेको जनाएको छ । नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको बताइएको छ ।