आईटी जनशक्तिलाई देशमै काम गर्ने वातावरण बनाउँछौंः मन्त्री शर्मा

शेयर गर्नुहोस

भुवन बोहरा/काठमाडौं ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताउनुभएको छ । काठमाडौंस्थित सफ्टवेरिका कलेजले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी कार्यक्रम उद्घाटनका क्रममा विद्यार्थीहरुलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उनले पछिल्लो समय नयाँ पुस्तामा सूचना प्रविधिको क्षेत्रमा आशालाग्दो गरी आकर्षण बढेको तर यस्त्ँे दक्ष जनशक्तिलाई नेपालभित्रै टिकाउन नसकिएको ताउनुभयो । उहाँले भन्नुभयो- ‘सूचना प्रविधिको दक्ष जनशक्तिलाई सरकारी सेवामा भित्र्याउन र उनीहरुलाई कसरी टिकाउन सकिन्छ भनेर छलफल भइरहेको छ । संघीय कर्मचारी ऐनमार्फत सूचना प्रविधि क्षेत्रलाई छुट्टै सेवा समूहको रुपमा विकास गर्नेदेखि सूचना प्रविधि क्षेत्रका विज्ञहरुलाई सम्मानजकरुपमा पारिश्रमिक दिएर देशभित्रै योगदान गर्ने वातावरण बनाउन सरकार लागिरहेको छ ।’

त्यस्तो जनशक्तिलाई वृत्ति विकासका हिसाबले अन्य निजामति सरह तथा पारिश्रमिक दक्षता र विज्ञताका आधारमा दिने गरी ‘हाइब्रिड’ मोडल लागु गर्ने सोंच रहेको पनि उहाँले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनका साथै उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एम.फिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यलय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको मन्त्री शर्माले बताउनुभयो ।

उनले सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका युवाहरुलाई आविष्कार र नवपर्वर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने र त्यसबाट छानिने प्रतिभाहरुलाई थप अगाडि बढ्न सहयोग पुग्ने गरी कार्यक्रम ल्याउने बताउनुभयो । त्यस्तै सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीहरुलाई सेवा प्रवेशका लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने उहाँले बताउनु भयो । ‘म तपाइँहरुलाई के विश्वस्त बनाउन चाहन्छु भने तपाईहरुले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेका आविष्कार र नवपर्वर्तनहरुलाई प्रोत्साहन गर्दै तपाईहरुका सिर्जना र उत्पादनलाई सरकारले प्रयोगमा ल्याउने वातवारण बनाउने छ’- मन्त्री शर्माले भन्नुभयो- ‘कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारको क्षेत्रमा केन्द्रित रहेर तपाइँहरुले आविष्कार र नवपर्वर्तन गर्नुभयो भने त्यसलाई प्रयोगमा ल्याउन सरकारले प्राथमिकतामा राख्ने छ । यी क्षेत्रमा डिजिटलाइजेसन गर्दै हरेक क्षेत्रलाई स्मार्ट बनाउन तपाईहरुको योगदानका लागि आग्रह गर्न चाहन्छु ।’

विज्ञान प्रविधिको क्षेत्रमा हुने कुनै पनि विकासको अन्तिम उद्देश्य मानव सुरक्षा र मानवीय हित भएकाले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो- ‘अब सूचना प्रविधि क्षेत्रको मात्र होइन, समग्र राष्ट्रिय सुरक्षाकै अंग बन्ने स्थिति सिर्जना भएको छ । साइबर स्पेसको सुरक्षा अब राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको सवालसँग पनि जोडिन पुगेको छ । त्यसैले सरकारले साइबर सुरक्षाको सवाललाई प्राथमिकताका साथ अघि बढाएको छ । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति पारित हुने अन्तिम चरणमा रहेको छ ।’ मन्त्री शर्माले युवा विद्यार्थीहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।