धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट विनियोजन गरेको छ । आज शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले अगामी आर्थिक वर्षको बजेट २९ अर्व २६ करोड ५९ लाख ३२ हजार बराबरको विनियोजन गरेका हुन् ।
मन्त्री शाहीले चालु खर्चतर्फ कुल विनियोजित बजेटको नौ अर्व ५९ करोड ६० लाख दुई हजार र पुँजीगत खर्चतर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार बजेट विनियोजन गरिएका हुन् । मन्त्री शाहीले अन्तर सरकारतर्फ दुई अर्व ३४ करोड ७५ लाख ७० र वित्तिय ३० करोड विनियोजन गरेको प्रदेशसभा बैठकमा जानकारी गराए ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट १ अर्ब ५०, संघीय सरकारबाट ९ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टीबाट ६ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको आठ अर्ब ५२ करोड तीन लाख, चालु आर्थिक वर्षको वजेटबाट बचत हुने विनियोजन तीन अर्व ८६ करोड ६७ लाख २४ हजार, ससर्त अनुदानबाट चार अर्व ५१ करोड १६ लाख, संघिय समपुरक अनुदानबाट ७७ करोड, विशेष अनुदानबाट ६२ करोड अनुमान गरिएको मन्त्री शाहीले जानकारी दिए ।
उनले स्थानीय तहलाई समानिकरण ८० करोड ६१ लाख ३५ हजार, ससर्ततर्फ ३९ करोड ४३ लाख ५० हजार, संचित कोषमा २९ करोड ७९ लाख ४६ हजार, समपुरक ६३ करोड ८९ लाख ८५ हजार र विशेषतर्फ ४० करोड ८१ लाख रकम विनियोजन गरेको प्रदेशसभा बैठकमा बताएका छन् ।