आलु कसरी बन्यो सर्वप्रिय ?

शेयर गर्नुहोस

काठमाडौं । आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभाृग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् ।

अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा पर्ने पोषणविद् आरेम कार्की बताउँछन् ।

आलुको उत्पत्ति

आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको वैज्ञानिक मान्यता छ । सन् १५३६ मा स्पेनका नाविकले पेरुलाई जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोपका अन्य देशमा आलु फैलाएको बताइन्छ । युरोपका जर्मनी, अस्ट्रिया, फ्रान्स, पोर्चुगल लगायत देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको तथ्यहरू भेटिन्छन् ।

फ्रान्समा आलुको विस्तार गर्न लुई चौधौंले सन् १७६७ मा आलुको परिकार मात्र बनाइएको भोज आयोजना गरेको तथा उक्त भोजमा तत्कालीन अमेरिकी राजदूत बेन्जामिन फ्रर्यांलिन समेत सहभागी भएको उल्लेख छ । पोर्चुगलले भित्र्याएको आलु भारतको पश्चिम तटीय क्षेत्रमा खेती हुने गरेको विवरण सन् १६७५ मा तत्कालीन बेलायती दूतावासका कर्मचारी एडवार्ड टेरीले आफ्नो भ्रमण डायरीमा लेखेका छन् । भारतको पश्चिम बंगालमा भने बेलायती व्यापारीहरूले लगेको पाइन्छ । पश्चिम बंगालबाट नेपालको पूर्वी भाग हुँदै आलु नेपाल तथा तिब्बत प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।