डडेल्धुरा । डडेल्धुरामा गएराती देखि परेको अविरल वर्षा सँगै हिमपात पर्न थालेको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे र गैराबजार आसपासका क्षेत्रमा हिमपात पर्न सुरु भएको छ ।
वर्षासँगै अत्यधिक रुपमा चिसो बढेपछि डडेल्धुरा सदरमुकामसगैं उच्च पहाडि क्षेत्रको जनजिवन निकै कष्टकर बनेको छ । डडेल्धुरा सदरमुकाममा केही दिन अघि देखि चिसो बढेपछि स्थानीय प्रशासनले जिल्लाका विभिन्न ठाँउहरुमा दाउरा वितरण गरेको थियो । चिसो बढेसँगै डडेलधुरा सदरमुकामको बजार क्षेत्र सुनसान भएको छ ।
चिसोका कारण सदरमुकामका विद्यालयहरू बन्द भएका छन् भने यातायातका सवारी साधनहरू पनि हिमपातका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर धामीले भीमदत्त राजमार्ग क्षेत्रमा हिमपात परिरहेकाले यातायात बन्द हुने अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयहरूलाई सजक र सर्तक रहन आग्रह गर्नुभएको छ । चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित बनेको छ भने हिँडडुल समेत गर्न निकै कष्टकर बनिरहेको प्रनानि धामीले बताउनुभयो ।