त्रिवि मैदानमा बलरको दिन

शेयर गर्नुहोस

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा खेलेका सबै ३ खेल हारेको कतारसँग सेमिफाइनल पुगिसकेको नेपालको खेल सहज हुने अपेक्षा थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल नेपालले ६८ रनको अन्तरले जित्यो, तर त्यो जितको प्रदर्शन अपेक्षा अनुसारको भएन । अघिल्ला तीन खेलको नतिजाले सेमिफाइनलमा पुगिसकेको नेपालले ६ वर्षअघि आईसीसीको एसोसिएट सदस्य पाएको कतारसँग टस हारेर ठूलो योगफलको लक्ष्यसहित ब्याटिङ थाल्यो । त्रिवि मैदानको पीचमा ३ सय आसपासको योगफल हिजोआज स्वभाविक हुन थालेको छ । अघिल्ला खेलहरुमा यूएई र ओमानले जस्तै गर्ने नेपालको प्रभावशाली ब्याटिङ योजना कतारले ध्वस्त पारिदियो । लामो समयपछि नेपालले ब्याटिङमा बिर्सनलायक प्रदर्शन गर्‍यो । कमजोर प्रतिस्पर्धी कतारसँग त नेपाली ब्याटरबाट यो प्रदर्शनको अपेक्षा नै थिएन । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको साझेदारी समस्यालाई प्रशिक्षक मोन्टी देशाईको वान बल ब्याटल र ह्याप्पी ड्रेसिङ रुमको रणनीतिले पनि सुधार गर्न सकेको छैन । दोस्रो ओभरमै कुशल भुर्तेलले लेन्थमा आएको बललाई लेगसाइडतर्फ प्रहार गर्दा मिडविकेट क्षेत्रमा क्याचआउट हुँदा रनको खाता खोल्नै पाएनन् । ओमानसँगको अघिल्लो खेलमा पनि उनले रन बनाउन सकेका थिएनन् । बिहानको समयमा टर्निङ विकेटमा खेल्न नेपाली ब्याटरलाई यसै पनि कठिन भइरहेको थियो । अधिकांश नेपाली ब्याटर ठूलो शट खेल्ने चक्करमा बाउण्ड्रीमा क्याचआउट हुन पुगेका थिए । अघिल्ला दुई खेलमा भरपर्दो ब्याटिङ गरेका भीम सार्की (६ रन) चौथो ओभरमा रिभर्स स्वीप खेल्ने चक्करमा आउट भए । त्यसपछि आएका कप्तान रोहितले ओपनर आसिफसँग मिलेर तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । १२.४ ओभरमा इक्रामुल्लाह खानको गतिलाई बुझ्न नसक्दा पूल शट प्रहार गरेका आसिफ १९ रनको स्कोरमा फाइनलेग क्षेत्रमा क्याच आउट भए । तीन ओभरपछि कप्तान रोहित पनि २७ रन बनाएर कट बिहाइण्ड आउट भए । क्वाइस अहमदको अर्थोडक्स बलिङमा एज लागेको रोहित आफैंले विश्वास गर्न सकेका थिएनन् । नेपालले बिहीबार अप्रत्यासित रुपमा सोमपाल कामीलाई पाँचौं नम्बरमा पठाएको थियो । तर, नेपालको त्यो रणनीति पनि सफल रहेन । ओमानसँगको खेलमा अर्धशतक बनाएको सोमपाल र शतक बनाएका कुशल मल्लले लामो पारी खेल्न सकेनन् । आसिफ शेख र दीपेन्द्रसिंह ऐरी पनि ठूलो शटकै चक्करमा आउट हुनुपरेको थियो । नेपालको अन्तिम भरोसाका रुपमा रहेका गुल्सन झालाई ७ रनमा गुमाउँदा नेपालले २८ ओभरमा १११ रनको योगफल बनाएको थियो । त्यसपछि सन्दीप लामिछाने र ११ नम्बरमा आएका ललित राजवंशीले ४६ रनको साझेदारी गरेपछि नेपालले १५० को योगफल पार गरेको हो । सन्दीपले ५८ बलमा ६ चौकासहित ४२ रनको अविजित पारी खेले । ४०.३ ओभरमा ललित एलबीडब्लू आउट हुँदा नेपाल १५७ अलआउट भयो ।