एजेन्सी । चन्द्रमामा यान पुर्याउने विश्वको चौथो मुलुकका रुपमा भारत आफ्नो नाम लेख्न सफल भएको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको छ ।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो । जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो ।
चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूणर् भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ । प्रज्ञानको तौल २६ किलो रहेको छ ।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो् । इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन् ।
यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए । तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए अमेरिकाले पटक-पटक अन्तरिक्षयात्री पठाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो ।