काठमाडौं । एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले यो प्रस्ताव गरेका हुन् । उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, कसैले फागुन २१ गते गर्नुपर्ने र केहीले मंसिरमै गरौं र पार्टीलाई थप क्रियाशील बनाऔं भनेका थिए । उनले भने, ‘अध्यक्षले माघमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ।’
उनका अनुसार सचिवालय बैठकले महाधिवेशनको तिथि टुंगो लगाउने छ । २०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । जारी सचिवालय बैठकमा आगामी निर्वाचन समाजवादीले एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेका छन् ।
सदस्यहरुले यो निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिन सकेको भए राष्ट्रिय पार्टी बन्ने थियो त्यस्तो परिस्थिति नबन्दा भोट घघटेको धारणा राखेका थिए । त्यसैले आगामी निर्वाचनमा एक्लै लड्ने मनस्थिति बनाउनुपर्ने उनीहरुले बताएका थिए । गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको मर्म र भावना आत्मसात हुन नसकेको अधिकांश सदस्यको बुझाइ रहेको थियो । शुक्रबारदेखि सुरू भएको बैठक भोलि सक्ने कार्यसूची रहेको छ ।