धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना हुँदा घाइते भएका पाँच मध्ये मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजेर ४५ मिनेटमा जयपृथ्बी राजमार्गको बझाङको केदारस्यु गाउँपालिका-१ झारछडामा मन्त्री सवार गाडी दुर्घटना भएको थियो ।
डडेल्धुराबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर दुर्घटना भएको थियो । तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर उद्वार गरी घाईतेहरुलाई उपचारको लागि रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरामा पुगाएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा करिब ५५/५६ वर्षीय मन्त्री पृथ्बीबहादुर सिंह रहेका र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै ५० वर्षीया अमृतासिंह (मन्त्रीकी श्रीमती) को अवस्था पनि गम्भीर रहेको छ । यस्तै करिब ६०/६५ वर्षीया जयादेवी सिंह र सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै ३५ वर्षीय गाडी चालक धर्मराज जोशी रहेका र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मन्त्री सहित घाईतेहरुको थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।