टोर्नेडोमा जसले आफ्नो सबैथोक गुमाए

शेयर गर्नुहोस

१४ वैशाख, बारा । ‘ढ्हल घर खान्लाके बादमे पहिले अम्मि, फिर दादी, ओहके वाद दुगु बहिन मिल…’ साहेब अन्सारी हिक्क, हिक्क गर्दै थिए ।

यो कुरा हो पाँच वर्ष पुरानो । हजुरआमा, आमा र दुई बहिनीको इहलिला कसरी समाप्त भयो भनेर उनी सुनाइरहेका छन् ।

चितवनबाट सुरु भएको विनाशकारी आँधी (टोर्नेडो) ले बारा पुगेर विनाशको रुप लियो । यही आँधीले साहेब अन्सारीकी हजुरआमा मिमा खातुन, आमा सकिमा खातुन, दुई बहिनी सम्सिदा र रुख्सारलाई लग्यो । एकै झट्कामा हजुरआमा, आमा र दुई बहिनी गुमाउँदा साहेब १२ वर्षका थिए ।

बाराको फेटा गाउँपालिकाको पुरैनियाँ गाउँमा आँधीले सबैभन्दा धेरै क्षति पुर्‍यायो । गाउँका सबैजसो घर जगैदेखि उखेल्यो । रुख, विरुवा सबै उखेल्यो । घरको भौतिक संरचना मात्र होइन आँधीले अन्सारी परिवार नै उखेल्यो ।

आँधीले खण्डहर बनाएको गाउँमा अलिकता सग्लो बचेको आफन्तको घरमा बसिरहेका साहेबले सेतो कुर्था लगाएका थिए । छरछिमेक र मनकारीले सहयोग भनेर दिएको रुपैयाँ उनले मुठीमा च्यापेका थिए । हजुरआमा, आमा र दुई बहिनीलाई सम्झेर एकोहोरो टोलाइरहेका थिए साहेब ।

टोलाइरहेका साहेबलाई हेर्दै गाउँलेहरु पीडाका सुस्केरा काढिरहेका थिए, ‘सब मरगइल । अब यो बालकको के होला ?’ जवाफमा गाउँलेका आँखा भरिन्थे ।

स्थानीय मदरसामा चार कक्षा पढिरहेका साहेबका बुबा हैदर अन्सारीको किराना पसल थियो । मदरसाकै होस्टलमा बसेर पढ्थे साहेब । स्कुल सकेर अन्सारी १७ चैत ०७५ मा कलैयास्थित फुपूको घर गए । आँधीले घर भत्काएको खबर पाएपछि राति दश बजेतिर उनलाई लिएर फुपू पुरैनियाँ आइन् ।

रातको अन्धकारमा गाउँ पुगेका साहेबले आफ्नो घर देखेनन् । यत्रतत्र हावाले उडाएका घरका टुक्रा देखे । तिनै टुक्राबीच च्यापिएकी हजुआमा, आमा, दुई बहिनी र बुबालाई देखे उनले । आँधीको बेगसँगै हजुआमा, आमा, दुई बहिनीको प्राण उडिसकेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो आँधीको औसत गति ३४ किलोमिटर प्रतिघण्टा थियो । आँधीको गतिभन्दा बढ्ता थियो आँधीभित्रको हावाको गति । आँधीले ल्याउने त्यो हावाको गति करिब २ सय देखि २६५ किलोमिटर प्रतिघण्टा थियो ।

छिमेकीले भग्नावशेषमा च्यापिएकी साहेबकी हजुरआमा, आमा र दुई बहिनीलाई निकाले । ‘बुबाको मात्र सास चलेको थियो अरुको सास थिएन’, साहेब सम्झिने प्रयास गर्छन् । छेउमै बसेका छन् साहेबका बुबा हैदर अन्सारी, उनी भन्छन्, ‘म त बेहोस भइहालें । के भयो, कसरी भयो, केही थाहा नै पाइन् ।’

आँधीले पुरैनियाँ गाउँका १० जनाको ज्यान लियो । जसमध्ये अन्सारी परिवारले चार जना गुमायो । पाँच वर्ष पहिले आँधीमा चार जना गुमाएको अन्सारी परिवारमा अहिले हजुरबुबा इजदार मियाँ अन्सारी, बुबा हैदर अन्सारी र नाती साहेब अन्सारी मात्र छन् । यो परिवारले आँधीमा आफ्नो घरका महिला सदस्य सबै गुमाएको थियो ।

आँधीको कहर नआउँदासम्म बडो आनन्दले चलेको थियो अन्सारी परिवार । आँधी आउनुभन्दा ६ महिना पहिले असोज ०७५ मा मात्रै हैदर कतारबाट फर्केका थिए । कतारबाट जोगाएर ल्याएको पैसा लगाएर उनले पक्की घर बनाएका थिए । बचेको पैसा उनले किराना पसलमा लगाएका थिए । उनी दिनभर पसलमा बस्थे । पसलकै आम्दानीको भरमा हैदरले ७ जनाको परिवार पालेका थिए ।

‘विदेशबाट दुःख गरेर ल्याएको पैसाले घर बनाएको थिएँ, पसल चलाएको थिएँ’, हैदर सम्झिन्छन्, ‘छोरालाई पढाउँछु र आफू आनन्दले पसल चलाएर बस्छु भन्ने सोचेको थिएँ ।’

आनन्दले परिवार चलाउने, छोरालाई पढाउने हैदरको सपना हुरीले उडायो । व्यवस्थितत भइसकेको अन्सारी परिवारलाई हुरीले सडकमा ल्याएर पछार्‍यो ।

आँधी आएको साँझ हैदर सहित घरमा पाँच जना थिए । ‘म जमात (धार्मिक यात्रा) मा रौतहट गएको थिएँ,’ हैदरका बुबा इजदार सम्झिन्छन्, ‘पोता (नाती साहेब) फुपूको घर गएको थियो । घरमा मेरो बुढी, बुहारी र दुई नातिनी थिए ।’

धार्मिक यात्रा अधुरै छाडेर गाउँ फर्किदा इजदारको परिवार पनि अधुरो भइसकेको थियो । ७४ वर्षे इजदारले जीवनको उत्तरार्धमा आफूभन्दा सानो उमेरका परिवारका सदस्यलाई ‘मिट्टी’ (अन्तिम संस्कार) दिए ।