एक क्वीन्टल सुन प्रकरणः अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुग्यो

शेयर गर्नुहोस

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरे संगै यो प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ ।

विभाग स्रोतका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् । पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन् । उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो, त्यहीबाट संलग्नता देखिएको भन्दै पक्राउ गरिएको थियो ।

कृष्ण श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो । यस्तै विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ । उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनबाट अनुमति ल्याएको छ ।

यस्तो यही प्रकरणमा चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन् । अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन् । मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ’ब्रेक शु’ मा सुन फेला परेको थियो । अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ । सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ ।