काठमाडौ । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार साना पार्टीलाई सखाप पार्न केन्द्रीत भएको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
सरकार पछिल्लो समय प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको उनले बताएका छन् । सरकारको ’भिजिबिलिटी’ नै नदेखेको र आफूहरू सत्ता पक्ष हो कि विपक्षी थाहा नभएको उल्लेख गर्दै उनले भने, ’न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले । हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा । म चाहिँ खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महसुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सिमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने ? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु ।’
त्यस्तै अध्यक्ष राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताए । सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । ‘एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि यो भइरहेको छ । अहिले आधि आधि भयो । ३-३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यस्तो गरिरहेको यो गलत हो’यनले भने ।
न्युज एजेन्सी नेपालबाट ।