माओवादी भित्रै प्रश्न- सरकार कहिलेसम्म टिक्छ ?

शेयर गर्नुहोस

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

१४ वैशाख, काठमाडौं । पेरिसडाँडास्थित पार्टी कार्यालय प्रवेश गर्ने बित्तिकै माओवादी केन्द्रका नेता खगराज भट्ट एउटा प्रश्नको सामना गर्छन् । ८ वैशाखमा केन्द्रीय कार्यालय आएका उनलाई कार्यकर्ताको प्रश्न थियो–सुदूरपश्चिम सरकारको हालखबर के छ ?

कार्यकर्ताहरूले उनलाई गरेको प्रश्न स्वाभाविक थियो । किनभने, उनी माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति इन्चार्ज र त्यहाँको प्रदेशसभामा दलको नेता समेत हुन् । चुनावलगत्तै गठन भएको एमाले नेता राजेन्द्रसिंह रावलको सरकारका भौतिक पूर्वाधार मन्त्री बनेका उनी मुख्यमन्त्रीका लागि प्रतीक्षारत नेता पनि हुन् ।

भट्टलाई जुन आशय र आशंकासहित कार्यकर्ताहरूले प्रश्न गरेका थिए, उनले पनि त्यसैलाई बल पुर्याउने गरी जवाफ फर्काए । प्रदेश सरकारको हालखबर के छ भन्ने प्रश्नमा केहीबेर अलमलिएर उनले जवाफ फर्काए– ‘माथि (केन्द्रमा) जे हुन्छ, त्यहाँ पनि त्यस्तै–त्यस्तै हुन्छ ।’

कार्यकर्ताको प्रतिप्रश्न– त्यो भनेको के हो ? सरकार (केन्द्रको) ढल्न लागेको हो र ?

‘यसै केही पनि भन्न सकिन्न, जे पनि हुन सक्छ’— प्रतिप्रश्नको जवाफ फर्काउँदै उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । नेकपा एमालेको मुख्य सहयोगमा १० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले छोटै समयमा सत्ता सहयात्री बदले । एमालेका ठाउँमा नेपाली कांग्रेस मुख्य सहयात्री बन्यो । प्रचण्ड अहिले १० दल मिलाएर सरकार चलाइरहेका छन् ।

तर, सरकारको निरन्तरतालाई लिएर भट्टले जस्तै ‘जे पनि हुन सक्छ’ भन्ने अनिश्चय र आशंकामा अहिले माओवादीका धेरै नेता, कार्यकर्ता भेटिन्छन् । प्रायःको चिन्ता मिश्रित जिज्ञासा हुन्छ– यो सरकार कहिलेसम्म टिक्ला ?

अनलाइनखबरमै केही दिनअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सरकारको निरन्तरतालाई लिएर गरिएका आशंकाबारे एक विश्लेषणात्मक लेख नै लेखेका थिए ।  उनको लेखमा ‘सरकारको आयु तथा मध्यावधि निर्वाचन बारे बहस सुरु भइसकेको’ उल्लेख गरिएको छ । त्यसमा उनले दुई कारणले सरकार परिवर्तन हुनसक्ने चर्चा गरेका छन् ।