रोल्पाका स्थानीय तहहरुले भर्ना गरे आफ्नै प्रहरी

शेयर गर्नुहोस

रोल्पा,२५ वैशाख । रोल्पा जिल्लका वटा चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । जम्मा दश स्थानीय तह रहेको रोल्पा जिल्लामा रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका र माडी गाउँपालिकाले आफ्नै नगर प्रहरी राखेको छ ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० जना नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक हवल्दार रहेका छन भने नौ जना जवान रहेका छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पा नगरपालिकाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षामा नगरप्रहरी परिचालन गर्ने गरेको छ ।

रोल्पा जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढी गाउँपालिकाले एक महिलासहित नौ जना नगर प्रहरी भर्ना गरेको छ । रुन्टीगढी गाउँपालिकाले एक जना प्रमुख नगर प्रहरी र आठ नगर प्रहरी भर्ना गरेको छ । यस्तै माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सात गाउँ प्रहरी भर्ना गरेको छ । माडी गाउँपालिकाले गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान भर्ना गरेको छ ।

यस्तै सुनिलस्मृति गाउँपािलकाले पाँच जना नगर प्रहरी भर्ना गरेको छ । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्न नगर प्रहरी परिचालित गर्ने गरिएको छ । रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिका जिल्लाका नगरोन्मुख गाउँपालिका हुन ।

स्थानीय तहले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यु, विपद व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनाको तालिम दिइएको छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठी दिइएको छ । स्थानीय तहहरुले भर्ना गरेको प्रहरीको खर्च आन्तरिक स्रोतबाट गर्दै आएका छन् । रोल्पा जिल्लमा एक नगरपालिकासहित गाउँपालिका लगाएर दश स्थानीय तह रहेका छन् ।