संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

शेयर गर्नुहोस

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दै छ । अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो । बुधबार राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम पढ्ने जानकारी दिएको थियो ।

राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा पौडेलेले गर्ने यो नै पहिलो सम्बोधन हो । संसदमा राष्ट्रपति उपस्थित हुँदा राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन् ।

संयुक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बेग्लाबेग्लै बस्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल हुने र छलफल सकिएपछि जेठ १५ गते बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था रहेको छ ।