बझाङमा गाडी दुर्घटना अपडेटः २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

शेयर गर्नुहोस

धनगढी । बझाङमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित ३ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका १ देउरा नजिक भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । मन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकाको देउरा नजिक दुर्घटना भएको थियो ।